नेकपाले अलमल गर्दा एक महिना व्यर्थै

admin

काठमाडौं, १८ पुस : संघीय संसद्को हिउँदे अधिवेशन यात्रा सुरु भइसकेको छ। अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नेतृत्वविहीन छ। सभामुख नहुँदा बैठक नै बस्न नसकेको अवस्था छ। सभामुख नपाउँदा कम्तीमा एक महिना व्यर्थै बित्ने देखिएको छ। पुस ४ गते हिउँदे अधिवेशन सुरु भएको हो। त्यसयता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।

बैठक बस्न नसक्दा जनताको आबाजसमेत बन्द भएको छ। सभामुखका लागि उम्मेदवार छनोटमा सत्तासीन नेकपाभित्र देखिएको अन्तरद्वन्द्वले निकास पाए अर्को बैठक २७ गते बस्नेछ। संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीलाई यौनदुव्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १३ मा पदबाट राजीनामा दिएका थिए। महराले बेलैमा राजीनामा दिए पनि सत्तासीन नेकपाले नयाँ उम्मेदवार छनोट गर्न नसक्दा प्रतिनिधिसभाले सभामुख पाउन विलम्ब भएको हो।

पुस ४ गतेपछि ११ र १६ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको थियो। ती दुवै बैठक सूचना टाँसेर स्थगित गरियो। १६ गतेका लागि डाकिएको बैठक १५ गते नै सूचना टाँसेर पुस २७ गतेसम्म स्थगित भएको जानकारी सचिवालयले सांसदलाई गरायो। सरकारको नेतृत्व गरेको नेकपाकै आग्रहमा यसरी पटकपटक बैठक सारिएको हो। बैठक नै बस्न नसकेपछि धेरैजसो सांसद आ–आफ्नो जिल्ला फर्केका छन्।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा हेरिन्छ। सभामुख नपाएसम्म प्रतिनिधिसभा बैठक विधेयकमाथिको छलफलमा प्रवेश नगर्ने संसद् सचिवालयले जनाएको छ। सभामुख नहुँदा विधेयकमाथिको छलफल रोकिएको मात्र होइन संसद्ले पारित गरेका केही महत्वपूर्ण विधेयक प्रमाणित हुन नसकेर अलपत्र अवस्थामा छन्। संसद्ले सभामुख नहुँदा अन्य नियमित काम पनि गर्न सकेको छैन। सभामुख नहुँदा उपसभामुख पनि विवादमा परेकी छिन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया