नेकपा एसकी सचिव झाँक्री गुल्मीबाटै चुनाव लड्ने

admin

काठमाडौं, ८ असोज : नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट लड्ने बताएकी छन् । शुक्रबार गुल्मी काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गदै उनले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने बताएकी हुन् ।

आफूले लामो समयदेखि राजनीतिमा सक्रिय रहेपनि नेताहरूले गुल्मीलाई भूगोल बनाएर काम गर्ने वातावरण नदिएको कारण आफू बाहिर भएपनि अब भने गुल्मीमै राजनीति गर्ने उनको भनाई छ । ‘म जब राजनीतिमा सक्रिय रहेँ, गुल्मीमा रामकुमारीले आफ्नो भूगोल बनाउँछ भन्दै अवसरवादीहरूले सँधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सकिन’, उनले भनिन् । उनलाइ गुल्मीकाे भूगाेलमा राजनीति गर्न नदिने मध्ये प्रमुख पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नं. २ का सांसद गाेकर्ण विष्ट हुन् ।

पार्टीका केन्द्रीय सदस्यहरूलाई जिल्लाको इन्चार्ज बनाउने विधि पद्धति भएपनि गुल्मीको माटोमा जन्मेकी आफूलाई केन्द्रीय सदस्य हुँदा समेत जिल्लाको इन्चार्जको जिम्मेवारी पूरा गर्ने अवसर नदिइएको उनको भनाई छ । सचिव झाँक्रीले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौँ युवा नेताहरू पनि ठूला भनिएका नेताहरूसँग निर्वाचन लड्न तयार रहेको बताइन् ।

‘दुईदुई पटक संसदको हत्या गर्ने पार्टीसगँ संविधानको रक्षा गरेर अगाडि बढेको नेकपा (एकीकृत समाजवादी) पार्टीका हरेक नेताहरू निर्वाचन लड्नेछन्,’, उनले भनिन् । संसदको ह त्या गर्ने एमालेका मान्छेहरू अब के भनेर आगामी निर्वाचनमा भाग लिन्छन् त्यो लाजमर्दो अवस्था हेर्न बाँकी रहेको उनको भनाई छ ।

‘के उनीहरू हामीलाई भोट दिनुस् ६ महिनामा संसद विघटन गरेर आउँछौ भन्दै भोग माग्लान् त ?’, उनले भनिन्, ‘संविधानको धज्जी उडाउने केपी वली कम्पनीको एमालेलाई संसदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन ।’

माधव नेपाललाई बोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरू सबैभन्दा बढि अवसरवादी भएको उनको आरोप छ । ‘विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादीहरूलाई आगामी निर्वाचनमा जनताले देखाइदिन्छन्,’ उनले भनिन् । झाँक्रीले गुल्मीबाट चुनाव लड्ने घाेषणा गरेपछि अब गुल्मीमा पूर्वमन्त्री विष्टसँग उनकाे प्रतिस्पर्धा हुने भएकाे छ ।

प्रतिक्रिया