‘नेकपा’ नाम को विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

admin

काठमाडौं, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।

आयोगको ओली-प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् । निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली-प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले बदनियतपूर्ण निर्णय गरेको भन्दै ओली-प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो निर्णयसँगै दुई समूहमा विभाजन भएको ओली-समूहले नेतृत्व गरेको नेकपा थप सङ्कटमा परेको छ । अदालतको आदेशसँगै सरकार र नेकपाका कैयौँ विषयमा प्रश्न उठेको छ ।

प्रतिक्रिया