नेताको घर धाउने प्रवृत्तिको अन्त्य हुन्छ : मन्त्री कार्की

राष्ट्रिय समाचार समिति

भद्रपुर, ४ असोज: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेशको प्रहरी ऐन बनाइने बताउनुभएको छ । आज झापाको चन्द्रगढीमा ‘संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश ऐन बनेपछि प्रदेशको शान्ति, सुरक्षा सोही बमोजिम हुने बताउनुभयो ।

हालसम्म प्रदेश सरकारले ४१ कानून बनाइसकेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले अब बन्ने प्रहरी ऐनमा कार्यक्षमताका आधारमा सरुवा, बढुवा र पदक प्राप्तिको प्रष्ट व्यवस्था हुने उल्लेख गर्नुभयो । “सोर्सफोर्सको आधारमा प्रहरीलाई राम्रा ठाउँमा सरुवा गरिने परिपाटी अत्यन्त गलत छ”, मन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको प्रहरी ऐन बनेपछि बढुवा र पदकका लागि नेताको घर धाउने प्रवृत्तिको पनि अन्त्य हुनेछ ।”

संविधानअनुसार बनेका सरकारका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिलाई संविधान नमान्ने छुट नभएको उहाँको भनाइ थियो । मन्त्री कार्कीले जनताले गरेको शान्तिपूर्ण विरोध र आलोचनालाई रोक्ने र छेक्ने काम नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले त्यही संविधानको आधारमा निर्वाचित हुने, तलबभत्तालगायत सुविधा लिने, गाडी चढ्ने र झण्डा हल्लाउँदै संविधानको विरोध गर्ने जोकोहीलाई छाड्न नहुने बताउनुभयो ।

कार्यक्रममा संविधानविद् तथा अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधान मुलुक बनाउने आधार भएको हुँदा गाउँ बस्तीसम्म पुगेर संविधानबारे जनतालाई बुझाउन अझै पनि सरकार र राजनीतिक दलले नसकेको बताउनुभयो । उहाँले स्थानीय तहले ऐन मात्र बनाएर कार्यविधि नबनाई काम गर्दा कतिपय स्थानमा समस्या आएको बताउनुभयो । संविधान तथा राष्ट्रिय दिवस जिल्ला समारोह समितिको आयोजनामा भएको उक्त अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभएको थियो ।

प्रतिक्रिया