नेताको दसैं : कोही जिल्लामा, कोही काठमाडौंमै

admin

काठमाडौं, असोज १८ : दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् ।

सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दसैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा रहेका छन् । शीर्ष नेताहरू संघीय राजधानी छोडेर जिल्लामा पुगिसकेका छन् । जिल्लामा आयोजित शुभकामना कार्यक्रममा सहभागी उनीहरू आफूले गरेका कामको जानकारीसमेत गराइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंको अवसरमा गृह जिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ । २० असोजमा झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । २१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सर्वसाधारणलाई टीका लगाउनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दसैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ । कुनै विशेष कार्यक्रम नभएको जनाउँदै दाहाल सचिवालले परिवारसँगै मनाउने योजना रहेको जनाएको छ ।नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दसैं मनाउने योजना रहेको सचिवालयले जनाएको छ ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दसैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोज) रौतहट जाँदै छन् । टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने र नेता, कार्यकर्ता, शुभचिन्तकलाई लगाइदिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउँदै छन् । बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली झापामा शुभकामना कार्यक्रममा सक्रिय हुने
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारस“गै दसैं मनाउने
पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौं डल्लुस्थित निवासमै मनाउने
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटका विभिन्न कार्यक्रममा सक्रिय हुने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउने
राजपा नेपालका नेता राजेन्द्र महतो जनकपुरमा विभिन्न सांस्कृतिक कार्यक्रममा
सहभागी हुने

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव आज (शनिबार) काठमाडौं फर्कंदै छन् । दसैं, दीपावली, छठका साथै अन्य विभिन्न कार्यक्रमका लागि सुनसरी पुगेको यादव दसैंको टीका काठमाडौंमै लगाउनेछन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले काठमाडौंमै पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दसैंमा मान्यजनबाट टीका ग्रहण गर्ने बताए । साथै, टीका लगाउन आउनेलाई टीका लगाइदिने उनले बताए । दसैं रमाइलो गरी मनाउन सुझाव दिँदै उनले भड्किलो, दशा लाग्ने शैली नअपनाउँन उनले सुझाव दिएका छन् । राजधानी दैनिकमा खबर छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बाँस्कोटाले दसैं सांस्कृतिक पर्व भएकाले यसको जगेर्ना गर्नुपर्ने बताए । दसैंको महŒव नै मेटिनेगरी नमनाउन उनले आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साह अहिले रौतहटको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । रौतहटबाट निर्वाचित सांसद साहले दसैं, दीपावली तथा छठ पर्वपछि नै काठमाडौं फर्किने बताए । दसैं, दीपावली, छठलगायतका पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै गाउँघरका समस्या बुझ्ने, आफूले गरेका काम जानकारी गराउने तथा जनताको आवश्यकता बुझ्ने काममा व्यस्त रहेको बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले अहिले जनकपुर पुगेका छन् । पहाडमा मनाइने दसैंलाई तराई–मधेसमा दसहरा भनेर मनाइने गरेको नेता महतोले बताए । १० दिनसम्म मनाइने दसहरा गाउँ–गाउँमा लाग्ने दुर्गा पूजामा जाने, भेटघाट गर्ने, सांस्कृतिक कार्यक्रममा सहभागी हुने योजना रहेको महतोले बताए । दसहरा धर्म, संस्कृतिसँग जोडिएको विषय भएकाले गाउँ–गाउँमा लाग्ने मेलामा बच्चादेखि महिला, पुरुषको सहभागिता हुने गरेको उनले बताए । माटोले बनाएको दुर्गासहित देवीदेवताका मूर्तिनजिकैको नदी, पोखरीमा विसर्जन गरेपछि समापन हुने गरेको महतोले बताए ।

‘हाम्रोतिर टीकाको त्यति महŒव हुँदैन, विगतदेखि नै हामीले स्थानीय पण्डितबाट जमरा लगाउने गर्छौं,’ महतोले भने, ‘तर, पहाडमा टीकाको धेरै महŒव छ, हामी पूजापाठ गर्ने, नवरात्रि बस्ने, सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेका छौं ।’ बाल्यकालको दसहरा सम्झिँदै महतोले गाउँमा लाग्ने मेला हेर्न जाँदा जिलेबी, भुजा, पकौडी खाएको अनुभव सुनाए । दसहरामा नयाँ कपडा लगाउने, मेला हेर्नका लागि घरबाट पैसा पाउने भएपछि खुसी लागेको बताउँदै उनले मेलामा पुगेपछि दुर्गाभवानीसहित विभिन्न देवीदेवताको पूजा गरेर घर फर्किने गरेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्पा भुसालले पार्टीद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी हँुदै दसैं मनाउने बताइन् । पार्टीले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुने र शुभकामना साटासाट उनले बताइन् ।

दसैंमा तीन दिन घरमा बस्ने योजना सुनाउँदै उनले घरमा हुने पूजामा सहभागी हुने बताइन् । आमा बिरामी भएकीले परिवारका अन्य सदस्यले पूजा गर्ने र टीकाको दिन मान्यजनबाट टीका लगाउने उनले बताइन् । हामी विजया दशमीका दिन एक दिन मात्रै टीका लगाउने गरिएको बताउँदै उनले आमाको हातबाट टीका लगाउने बताइन् । दसैं रमाइलो गरी मनाउने पर्व भएको बताउँदै उनले ऋण गरेरै मनाउनुपर्ने कुराको विरोध गरिन् । आफ्नो हैसियत औकातअनुसार खर्च गर्नुपर्ने सुझाव दिँदै उनले कम पैसाको खर्चमै रमाइलोसँग पनि मनाउन सकिने बताइन् । साथीभाइ, परिवारमा मिलेर मनाउनुपर्ने र खानेकुरामा ध्यान दिएर खानुपर्ने साथै स्वास्थ्यको ख्याल गर्नुपर्ने सुझाव उनको छ ।

बाल्यकालमा दसैं मनाउँदा रमाइलो गरिएको कुरा सम्झिँदै उनले नयाँ लुगा पाउने, दक्षिणा पाउने, मामाघर जान पाउने कुराले खुसी लागेको अनुभव सुनाइन् । बाल्यकालमा दसैं मनाउदा रमाइलो गरी नै मनाएको बताउँदै उनले पिङ खेल्ने कुरा रमाइलो लागेको बताइन् । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले पार्टीद्वारा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुने योजना रहेको बताए । दसैंलाई मधेसमा दसहरा भनेर मनाइने पर्व भएकाले गाउँ–गाउँदेखि सहर बजारसम्म दुर्गाभवानीसहित देवीदेवताको मूर्ति बनाउने र पूजापाठ गर्ने चलन रहेको उनले बताए ।

‘जिल्लाको विभिन्न गाउँमा पुगेर भेटघाट गर्नुका साथै मैले गरेका कामबारे जनतालाई जानकारी गराउँछु र नयाँ योजनाहरू संकलन गर्छु,’ यादवले भने, ‘म निर्वाचित क्षेत्रमा विश्व प्रसिद्ध धार्मिक, ऐतिहासिक गढीमाईको मेला यही मंसिरमा लाग्ने भएकाले त्यसको व्यवस्थापमा जुटेको छु । आवश्यक तयारी भइरहेको छ । सडक, सञ्चार, शौचालय, खानेपानीलगायतको व्यवस्थापनमा जुटेको छु ।’

पहाडमा टीकाको रमझम, महŒव जति छ, मधेसमा त्यति नहुने गरेको उनले बताए । गाउँका पण्डितबाट जमरा लगाउने लगाउने र दसहरामा विशेषगरी नवरात्रि बस्ने, पूजा गर्ने, मेला लाग्ने, सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेको उनले बताए । बाल्यकालको दसहरामा सम्झिँदै उनले स्कुलमा बिदा हुँदा सिम्रौनगढमा लाग्ने गरेको मेला हेर्न जाने गरेको बताए । नयाँ लुगा लगाउँने, मेला खर्च घरबाट पाउँदा खुसी लाग्ने गरेको बताउँदै उनले सिम्रौनगढमा लाग्ने मेला हेर्न जाँदा जिलेबी, भुजा, पकौडी खाँदै रमाइलो गरेको अनुभव सुनाए ।

प्रतिक्रिया