नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरबाट सार्वजनिक, विप्लव सोझै बालुवाटार अनि मात्रै राष्ट्रिय सभागृहमा

admin

काठमाडौं, २१ फागुन : सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१३ बाट उनी सार्वजनिक भएका हुन् ।

बिहीबार बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताएका थिए । उनले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गरेका थिए । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा शुक्रबार काठमाडौंमा आउँदै छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आउने क्रममा छन् ।

नवलपरासीबाट काठमाडौं आएर उनी सोझै बालुवाटार जानेछन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् । ‘उहाँ अहिले काठमाडौं आउदै हुनुहुन्छ । काठमाडौं आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले भने, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’

सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो । शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग विप्लवले राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ ।

तत्कालीन विद्रोही माओवादीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि यसअघि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दैछन् ।

कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । सरकारले बिहीबार विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । हिं’सात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया