नेपालको सामाजिक-आर्थिक विकासमा सघाउने बेलायतको प्रतिबद्धता

मनिषा थापा

काठमाडौँ, १० फागुन (रासस) : संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको हो ।

नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपत्कालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले राससलाई जानकारी दिनुभयो ।

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको उहाँले बताउनुभयो ।

भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको जानकारी दिनुभयो । उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनका सिलसिलामा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको जानकारी आफूलाई दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया