नेपालगञ्जमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

राष्ट्रिय समाचार समिति

राँझा, २३ वैशाख :नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आजदेखि तीनदिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैजनाको कोरोना जाँच गरिँदैछ । दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ । “नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो”, श्रेष्ठले भन्नुभयो, “कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।”

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताउनुभयो । “सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ ।

यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।”

नेपालगञ्जमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति गत चैत १० मा भारतबाट फर्किएका थिए । नेपालगञ्ज –८ डिएसपी रोड निवासी उनी यसबीचमा महेन्द्रपार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयवासीको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब गत शनिबार सङ्कलन गरिएको हो ।

सङ्कलित स्वाबमध्ये आइतबार साँझसम्म ५५ जनाको आरटिपीसीआर विधिबाट स्वाब परीक्षण भएकामा १५ जनामा कोराना सङ््क्रमण फेला परेको छ । यी १५ जनामा पहिलो सङ्क्रमितकै सम्पर्कमा आएका कारण कोरोना फैलिएको हो वा अरु नै पहिलो सङ्क्रमित थिए भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । परिवारका सदस्यसहित अझै ३५ जनाको नतिजा नआएका कारण यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

नेपालगञ्ज–८ का मुसलमान समुदायका अगुवा समसुद्दीन सिद्धिकीले टोलका सबैजनाको कोरोना जाँच हुनुपर्ने बताउनुभयो । उहाँले जाँचका लागि समन्वय र सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो ।

सबै सङ्क्रमितको व्यापक रुपमा कन्ट्रयाक ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावितको स्वाब परीक्षण गर्न जिल्ला निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निस्कन पाउने छैन ।”

उहाँले स्वाब नमूना परीक्षणमा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ भएकालाई सुरक्षाको उच्च निगरानीसहित घरमै एकान्तबासमा राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

जोलाहनपूर्वा : पहिलो चरणको स्वाब परीक्षण
नेपालगञ्जको कोरोना सङ्क्रमित वडा नं ८ जोलाहनपूर्वा टोलमा पहिलो चरणमा सङ्कलन गरिएको स्वाबको परीक्षण सकिएको छ । गत शुक्रबार पहिलो पटक भेटिएका सङ्क्रमितको सम्पर्क भएको हुन सक्ने आशङ्काम जोलाहनपूर्वा क्षेत्रका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा त्यसको परीक्षण हुँदा २२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमित क्षेत्रमा शनिबार सङ्कलन गरिएका ९४ जनाको स्वाब परीक्षण रिपोर्टमा २२ जनाको पोजेटिभ र ७२ जनाको नेगेटिभ आएको छ । शनिबार स्वाब सङ्कलन गरिएकामध्ये पहिलो चरणमा आइतबार ३० जनाको रिपोर्ट आउँदा नौ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी आइतबार नै अर्को चरणमा २५ जनाको रिपोर्ट आउँदा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

बाँकी ३४ जनाको रिपोर्टमा आज सात जनालाई कोरोना पुष्टि भएसँगै बाँकेमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ । आज रिपोर्ट पोजेटिभ आएका सात जनालाई पनि उपचारका लागि खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा पठाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण देखिएपछि जोलाहनपूर्वा क्षेत्र र डिएसपी रोड क्षेत्रलाई पूर्णरुपमा बन्द गरी कडा सुरक्षा निगरानीमा राखेको छ ।

प्रतिक्रिया