नेपालद्वारा नव-निर्वाचित अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई सन्देश : थप सहकार्य गर्न प्रतिबद्ध छौं !

admin

काठमाडौं, ८ माघ : नेपालले अमेरिकाको उच्च नेतृत्वलाई बधाई सन्देश पठाउँदै भविष्यमा दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ । बुधबार शपथ ग्रहण गरेका राष्ट्रपति जोय बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बेग्लाबेग्लै बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति भण्डारीले दुई देशको सम्बन्ध सुमधुर रहेको बताएकी छिन् । नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाको सहयोगको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीच बहुआयामिक सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरेकी छिन् ।

उपराष्ट्रपति पुनले समकक्षी कमलालाई पठाएको बधाई सन्देशमा अमेरिकाको ऐतिहासिक चुनाबबाट पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले नयाँ नेतृत्वबाट जलवायु परिवर्तन,सामाजिक न्याय, लैंगिक समानताजस्ता बिषय प्राथमिकतामा राखिएको भन्दै प्रसंसासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वबाट अमेरिकाले प्रगति र समुन्नति निरन्तर हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकासँग लामो समयदेखिको मित्रतामा नेपाल प्रतिबद्ध रहँदै आएको भन्दै ओलीले विश्वव्यापी महत्वका, आपसी हितका विभिन्न विषयहरुमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै जाने विश्वास व्यक्त गरेका छन् । ओलीले सहयोग, आर्थिक साझेदारी, जनस्तरको सम्बन्धका आधारमा दुई देशको सम्बन्ध आगामी वर्षहरुमा नयाँ उचाईमा पुग्ने पनि विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि उपराष्ट्रपति ह्यारिसलाई सन्देश पठाउँदै दुई देशबीच द्धिपक्षीय सम्बन्ध तथा दुवै देशको संसदबीच द्धिपक्षीय सम्बन्ध थप वृद्धि गर्ने गरि सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया