नेपालमा अनुमति पायो, कोरोनाविरुद्ध ‘कोभिशिल्ड’ खोपले

admin

काठमाडौं, २ माघ : भारतमा उत्पादन भइरहेको कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति पाएको छ । औषधि व्यवस्था विभागको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ । भारतमा शनिबारदेखि यो खोप आमनागरिकलाई लगाउने भारतले यसअघि नै घोषणा गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरिसकेको छ ।

विभागले बुधबार सूचना निकालेर कोभिड-१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । अहिलेसम्म तीन आयातकर्ताहले आवेदन दिएको र आवेदन दिनेमध्ये दुई वटाको थप अध्ययन भइरहेको विभागले जनाएको छ ।

नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड-१९ खोपको तेस्रो चरणका परीक्षण गर्न अनुमति दिइसकेको छ भने भ्याक्जाइनले उत्पादन गरेको कोभ्याक्स-१९ खोपको परीक्षणका लागि पनि प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया