नेपालमा कोरोना संक्रमण दर ६ प्रतिशतमा झर्‍यो, थप नौ जनाले ज्यान गुमाए

admin

काठमाडौं, १० असोज : नेपालमा कोरोना भाइरसको संक्रमण दर ६ प्रतिशतमा झरेको छ । बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा थप नौ जना कोरोना संक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय संक्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै बितेको २४ घण्टामा एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया