नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि, आज प्रधानमन्त्रीले विज्ञसँग परामर्श गर्दै

admin

काठमाडौं, २० साउन : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय नाघेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ । देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन् ।

समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो ।

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ ।

यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि भीडभाड व्यवस्थापनदेखि लकडाउनसम्म जान सुझाव आइरहेको सम्बन्धित मन्त्रीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा निजी सवारी साधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ । स्वास्थ्यको उक्त प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा विचाराधीन छ ।

यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ ।  लकडाउन अन्त्यसँगै सरकारले २६ असारदेखि जोरबिजोर प्रणाली हटाएको थियो । सरकारले काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ ।

राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । नाकामै कोभिड परीक्षण थालिएको छ ।

हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ । तर पछिल्ला दिनमा संक्रमितको संख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन् ।

प्रतिक्रिया