नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ पुग्यो

admin

बाजुरा, १८ जेठ : बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।

जिल्ला अस्पतालको आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका १ घर भएकी दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको मृत्यु भएपछि स्वाब परीक्षणको लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो ।

आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाको कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ भने मृतक बालिकाको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । दुई वर्षीया बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएको थियो । बालिकाको अवस्था निकै चिन्ताजनक रहेको र उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आठ दिनअघि उनको परिवार भारतबाट आएको थिए । भारतबाट आएका उनीहरुलाई पहिले बूढीगङ्गा नगरपालिकाको क्वरेण्टीनमा राखिएको थियो । पछि बालिका बिरामी भएपछि, बिहीबार साँझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा ल्याइएको थियो ।

प्रतिक्रिया