नेपाली आकाशमा बैशाख अन्तिम साता ‘पुच्छ्रेतारा’, नाङ्गो आँखाले पनि देख्न सकिने

admin

काठमाडौं, २८ बैशाख : यो साता (विसं २०७७ बैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन् ।

यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रेतारा देखिने छ ।

यो पुच्छ्रेतारा बैशाख ३० गते मंगलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । पूर्वी क्षितिजभन्दा केही माथिमात्र देखिने भएकाले यसलाई हेर्न अलि कठिन हुने उनले बताए । गत चैतमा पत्ता लागेको यो पुच्छ्रेताराको चमकपन ३।५ म्याग्निच्युड हुने जनाइएको छ ।

क्षितिजबाट यो धूमकेतु १५-२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ । सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रुपमा देख्न सकिने खगोलविद् आचार्यले बताए ।

धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश आदि शुभकार्य गर्नुहुँदैन भनी ‘मुहूर्त चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ । यस विषयमा वैज्ञानिकरूपमा हालसम्म कुनै पुष्टि भने नभएको उनले बताए ।

यो धूमकेतु उत्तरपूर्वमा देखिने छ । शास्त्रमा उत्तरतिर देखिने धूमकेतुको फल राम्रो भनी व्याख्या गरिएको छ । दक्षिणतिर देखिने धूमकेतुको फल नराम्रो मानिएको छ । यसपटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले राम्रो फल दिने जनाइएको छ ।

प्रतिक्रिया