नेपाली चलचित्र ‘परदेशी-२’ आउँदो दशैंमा प्रदर्शन हुने

admin

काठमाडौं, ९ माघ : नारायण रायमाझी निर्देशित नेपाली चलचित्र (फिल्म) ‘परदेशी-२’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

निर्माता राजेश वंशलले लकडाउन अघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताएका छन् । निर्माता वंशलले छायांकन सकिएसँगै परिस्थिति सामान्यतर्फ फर्किँदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए । ‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ चलचित्रको छायांकन शुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दशैंमा प्रदर्शन गर्छौ ।’ उनले भने ।

निर्देशक नारायण रायमाझीले चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको बताए । उनले फिल्मको विषयवस्तुले दर्शकको मन छुने बताएका छन् । ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ’-निर्देशक रायमाझीले भने ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् ।

चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश सपूत यसै चलचित्रमार्फत अभिनेताको रुपमा डेब्यू गर्दै छन् ।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी-२’ तेस्रो फिल्म हो । सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया