नेपाली फुटबलमा नयाँ अध्याय शुरु भयो : मन्त्री विश्वकर्मा

admin

काठमाडौँ, १३ असोज : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताउनुभएको छ । आजदेखि शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको खेल क्षेत्रको विकास र समृद्धिका लागि सरकार तयार छ, स्पष्ट योजनाका साथ अगाडि बढ्नुस्, सरकार एन्फालाई सहयोग गर्न तयार छ ।”

खेलकूदका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले पछिल्ला दिनमा वर्षौँदेखि समाधान हुन नसकेका केही महत्वपूर्ण समस्या समाधान गर्न सफल भएको उहाँको दाबी थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफू एन्फा अध्यक्ष हुनुअघि गरेको प्रतिबद्धताअनुरुप लिग सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

“लामो समयदेखि लिग नुहँदा नयाँ खेलाडी पलायन हुनुपरेको छ, अब त्यस्ता दिनको अन्त्य गछौँ,” उहाँले भन्नुभयो । लिग संयोजक विज्ञानराज शर्माले प्रतियोगितालाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै लिगलाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा आफूले राखेको बताउनुभयो ।

उद्घाटन समारोहमा मन्त्री विश्वकर्माले शहीद स्मारक लिगको ट्रफी एन्फा अध्यक्षमार्फत लिग संयोजक शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । उद्घाटन समारोहमा गायक योगेश्वर आमात्य, हास्य कलाकार जितु नेपाल, सुनिल थापालगायतले आ–आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने नेपाल प्रहरीको ब्यान्डले जागरण गीतको धुन प्रस्तुत गरेको थियो ।
-रासस

प्रतिक्रिया