नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्छ : बिजुक्छे

राष्ट्रिय समाचार समिति

भक्तपुर, ५ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।नेमकिपाले मङ्सिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा आज चाँगुनारायण नगरपालिका–३ न्यौपाने गाउँ झौखेलमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

आगामी उपनिर्वाचनमा देशद्रोहीलाई परास्त गर्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेले नेपाललाई टुक्र्याउन भारतले विगतमा माओवादीलाई ‘ट्रोजनहर्स’को रूपमा तयार पारेकोसमेत आरोप लगाउनुभयो । नेमकिपालाई दिएको मत कहिल्यै खेर जाँदैन भन्दै उहाँले प्रमुख प्रतिपक्षको भूमिका फितलो रहेका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेमकिपा केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सुगौली सन्धिबाट नेपालको सीमा लिम्पियाधुरासम्म स्पष्टरूपमा कायम भएको बताउँदै देशको ९६१ ठाउँमा सीमा अतिक्रमण भएको बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईं र सिर्जना सैंजूले झुटको पुलिन्दा बोकेर तथा आश्वासनका पोका बाँडेर चुनाव जित्ने सोच बनाइरहेकालाई मतदानबाट जनताले परास्त गर्नुपर्ने धारणा राख्नुभयो । नेमकिपाको तर्फबाट भक्तपुर प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले निर्वाचनमा बाँड्ने झुटो आश्वासन र प्रलोभनमा भन्दा पनि वास्तविकता बुझेर जनताले मतदान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया