नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन : मन्त्री डा खतिवडा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ फागुन: सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताउनुभयो ।

उहाँले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “हवाई यात्रुको हकमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उहाँले भन्नुभयो, “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न छ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ ।

नेपाल–भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उहाँले जानकारी दिनुभयो । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उहाँले समितिले आवश्यक निर्णय गर्दै आएको बताउनुभयो ।

समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण भित्रन नदिन थप सुरक्षा अपनाइने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । “खासगरी औषधिको अभाव हुन नदिनलाई मौज्दात राख्ने, आयात गर्ने, भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्धको हकमा नेपालका लागि विशेष छुट दिन आग्रह गरिएको छ”, मन्त्री खतिवडाले भन्नुभयो, “अत्यावश्यक वस्तुको आपूर्ति र बजारमा कुनै प्रकारको वस्तुको कृत्रिम अभाव हुन नदिने, अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।”

प्रतिक्रिया