नेपाल ट्रस्टमा सरकारद्वारा नीतिगत भ्रष्टाचार

admin

काठमाडौं, १२ पुस: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले अवधि बाँकी छँदै पुनः त्यही कम्पनीलाई लिज अवधि थपिएको भन्दै रक्षक नै भक्षक भएको आरोप लगाएको छ। सरकारले नेपाल ट्रस्टका जग्गा यती होल्डिङ्स प्रालि र त्यसअन्तर्गतका कम्पनीलाई बिनाप्रतिस्पर्धा लिज र भाडामा दिएको छ।

‘दरबारमार्ग (काठमाडौं), लुम्बिनी, धरानलगायत कयौं ठाउँमा राज्य र नागरिकको जग्गा निश्चित प्रक्रियाबेगर सो समूहको हातमा पुग्नु र सरकार राष्ट्रिय सम्पत्तिको रक्षक नभई दोहनमा सहयोगी पात्र बन्नुलाई बैठकले भत्र्सना गरेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘गोकर्ण रिसोर्टलगायत लिज र भाडामा दिन सबै निर्णय तत्काल सच्याउन बैठक सरकारसमक्ष माग गर्छ।’

मुलुकको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले अमेरिकासँग हालसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) गरेको जनाउँदै बैठकले सरकारले यो वा त्यो बहानामा त्यसलाई अवरुद्ध गर्न खोजेको निष्कर्ष पनि निकालेको छ। उक्त सम्झौता संसद्बाट तत्काल पारित गर्न माग गर्दै कांग्रेसले भनेको छ, ‘सम्झौतालाई संसद्मा यथाशिघ्र पेस गर्न सरकारसमक्ष माग गर्छौं।’

कांग्रैसले सरकारले नागरिकको गोपनीयताको हकसमेत हनन् गर्नेगरी संविधानको मर्म र भावनाविपरित नागरिक स्वतन्त्रताविरुद्ध विधेयक ल्याएको आरोप लगाएको छ। नागरिक स्वतन्त्रत्रा हरण गर्ने विधेयक तत्काल फिर्ता लिन माग गर्दै कांग्रेसले भनेको छ, ‘जनविरोधी विधेयकलाई जवरजस्ती अघि बढाउन खोजिए संसद् तथा सडकमा समेत कांग्रेस दृढतापूर्वक उभिने छ।’

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र जनताको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको स्मरण गराउँदै कांग्रेसले भारत र चीनसँग देखिएको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न माग गरेको छ। तर, त्यसतर्फ सरकारले कुनै चासो नदिएको आरोप कांग्रेसले लगाएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया