नेपाल थाइल्याण्डसँग पराजित

admin

काठमाडौँ, ७ कात्तिक: एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन् । पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत थप १ गोल गर्दै टिप्क्रिताले थाइल्याण्डको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको थाइल्याण्डले खेलेको दोस्रो हाफमा पुन १ गोल थप्यो । दोस्रो हाफको अतिरिक्त समयमा थाइल्याण्डकी श्रीविपाले १ गोल गर्दै थाइल्याण्डलाई ३–० को सहज जित दिलाइन् ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनशिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनशिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनशिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।
-रासस

प्रतिक्रिया