नेपाल पक्ष सरकारमा सहभागी नहुने

admin

काठमाडौंँ, १५ साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ ।

योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । नेपाल समूहका १४ र एमाले अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले देउवालाई विश्वासको मत दिएको थियो ।

देउवा र दाहालले विश्वासको मत दिएको र प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सँगै आन्दोलनमा रहेकाले सरकार सञ्चालनमा समेत मिलेर अघि बढनुपर्ने भन्दै नेपाल पक्षलाई गठबन्धनबाट दबाब आइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवालाई भेटेर दाहालले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ । तर, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका ओली समूहका सांसद भने सरकारमा सहभागिता जनाउन नेपाललाई दबाब दिइरहेको स्रोतको भनाइ छ । उनीहरूको चाहना सुनेपछि नेता नेपालले आफ्नै रिक्समा मन्त्री बन्न सुझाव दिएको स्रोतको दाबी छ ।

‘अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा गृहकार्य भइरहेको छ । छलफल जारी नै रहेका बेला सरकारमा जानु उपयुक्त हँुदैन । यदि कसैलाई जानु छ भने गए हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

जनवर्गीय संगठन देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद, स्थायी कमिटीका सदस्यलगायतसँग निरन्तर छलफल गरेका नेपालले सरकारमा सहभागी हुन नसकिने प्रस्ट सन्देश दिएका छन् ।

एमाले नेता विश्वनाथ प्याकुरेलले सरकारमा सहभागी हुन साथीहरूको सुझाव आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गर्दै आएको बताए । केही साथीहरू जसरी पनि सरकारमा सहभागी हुनुपर्ने इच्छा व्यक्त गरिरहेको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया