नेपाल–भारत काव्य सन्ध्या

admin

काठमाडौँ, ८ मङ्सिर : नेपाल र भारतका साहित्यकारले दुई देशको सम्बन्ध प्राज्ञिक हिसाबले सुमधुर रहेको बताएका छन् । भौगोलिक सीमाका कारण अलग रहे पनि भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले सम्बन्ध सद्भावपूर्ण रहेको उनीहरुको भनाइ छ । साहित्यिक यात्रामा सहभागी ४० जना भारतीय साहित्यकारलाई आज राजधानीमा स्वागत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भारत र नेपालको सम्बन्ध राजनीतिक र आर्थिकरुपमा झैँ सामाजिक र संस्कृतिक दृष्टिले पनि प्रगाढ रहेको बताउनुभयो ।

आज प्रतिष्ठान र हिमालिनी साहित्यक पत्रिकाको आयोजनामा भएको भारतीय साहित्यकारको स्वागत तथा नेपाल–भारत काव्य सन्ध्या कार्यक्रममा उहाँले नेपाल र भारतबीचमा सद्भाव बढाउने काम प्रतिष्ठानले नियमित गर्दै आएको धारणा व्यक्त गर्नुभयो । कुलपति उप्रेतीले यो कार्यक्रम प्राज्ञिक तवरबाट सम्बन्धलाई उच्चस्तरमा लैजाने प्रयत्न भएकोे जानकारी दिँदै अन्य देशसँगसमेत साहित्यमा सहकार्य गर्दै अघि बढेको जानकारी दिनुभयो ।

भारतीय साहित्यकार टोलीका प्रमुख डा रामचन्द्र रायले दुई देशबीचको सम्बन्ध अटुट रहेको भन्दै कार्यक्रमले थप सम्बन्ध विस्तार भएको बताउनुभयो ।कार्यक्रममा नेपालका १० र भारतका १० जना कविले विभिन्न भाषामा रचना वाचनसमेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी पूर्वविभागीय प्रमुख स्वेता दिप्तीले सांस्कृतिक, परम्परा र सामाजिकरुपमा नेपाल र भारतको एकता मजबुद रहेको बताउँदै साहित्य सीमाहीन हुने बताउनुभयो ।

भारतको केदारनाथबाट शुरु हुने तीर्थयात्रा नेपालको पशुपतिमा आएर अन्त्य हुने भएकाले पनि नेपाल र भारतको सम्बन्ध उच्च रहेको बताउँदै उहाँले यो सम्बन्धलाई अझ प्रगाढ बनाउन यसप्रकारका साहित्यक गोष्ठी निरन्तर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, हिन्दी भाषाको हिमालिनी साहित्यिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चिदानन्द मिश्रले हरेक दृष्टिकोणले नेपाल भारतबीच महत्वपूर्ण सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय हिन्दी विभाग र विश्वशान्ति निकेतनको आयोजनामा शुक्रबार र शनिबार भएको ‘साहित्यको विश्वव्यापीकरणमा अनुवादको भूमिका र आवश्यकता’ विषयक काव्य गोष्ठीमा सहभागी हुन भारतीय साहित्यकार नेपाल आएका हुन्् । कार्यक्रममा भारतको उडिसा, कास्मीर, आसाम, केरला, पश्चिम बङ्गाल, विहार, झारखण्डका साहित्यकार सहभागी थिए ।
-रासस

प्रतिक्रिया