नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, सीमा विवादबारे छलफलमा भारत माैन

admin

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक शुक्रबार दिल्लीमा सम्पन्न भएको हो ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको बताइएको छ । दुई देशबीचको सीमा विवादबारे छलफलमा भारत मौन देखिएको छ ।

बैठकमा सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्रै सीमा विवादलाई लिएर आयोगको आगामी बैठकमा छलफल हुनुपर्ने मत भारतीय पक्ष रहेको छ । बैठक सकिए लगत्तै भारतीय विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्यसबारे केही उल्लेख छैन ।

यस्तै मोतिहारी अमलेखगञ्जसम्म पुगेको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन विस्तार गर्ने मामिलामा दुवै पक्षबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भारतले जयनगर–कुर्था ‘रेल वे’ को निर्माण सम्पन्न भएकोमा स्वागत गर्दै रेल सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । सीमा वारीपारीका नागरिकको आवागमनलाई कसरी सहज बनाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

दुवै मुलुकका लागि लाभकारी मानिएका प्रस्तावित पञ्चेश्वरलगायत जलविद्युत आयोजनाकाबारेमा पनि छलफल भएको बताइएको छ । भारत पशुपतिनाथ ‘रिभरफ्रन्ट डेभलपमेन्ट’ र पाटनको भन्डारखाल ‘गार्डेन रेस्टोरेसन’ गरी दुई नयाँ योजनाहरुलाई अघि बढाउन सहमत भएको छ । संयुक्त आयोगको अर्को बैठक नेपालमा राख्न दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागिता रहेको थियो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुग्नु भएको थियो । बैठकअघि ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटन पछिको राजनीतिक अवस्था र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दिल्ली पुग्नुभएका मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबारे अझै निश्चित भएको छैन ।

प्रतिक्रिया