नेपाल–भारत संवादहीनताको पर्दा खुल्दै

admin

काठमाडौं, मंसिर १२ : नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ।

बैठकमा भारतीय टोलीको नेतृत्व सचिव श्रींगला र नेपाली पक्षको नेतृत्व सचिव पौड्यालले गरेका थिए। ‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

बैठकमा द्विपक्षीय सहयोगको समीक्षा र आपसी हितका मुद्दामा छलफल भयो। त्यस्तै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल भयो। सीमा विवाद आपसी छलफलबाटै समाधान गर्ने सहमति बनेको बैठक स्रोतले बतायो।

बैठक र भेटमा दुवै समकक्षीले द्विपक्षीय परियोजनाहरूको प्रगतिको सराहनासमेत गरे। नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि दुई देशका बीचमा विदेश सचिवस्तरीय बैठक भएको हो।

सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो। भारतले कोरोना महामारीको कारण देखाउँदै नेपालले प्रस्ताव गरेको मितिमा छलफलका लागि अनिच्छा देखाउँदै आएको थियो।

तर पछिल्लो पटक करिब एक महिनाको अवधिमा भारतबाट एकपछि अर्काे गर्दैै महत्त्वपूर्ण भ्रमण भइरहेका छन्। यसअघि कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भ्रमण गरेका थिए।

श्रींगलाले बिहीबार नै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनकै कार्यकक्ष सिंहदरबारमा पुगेर शिष्टाचार भेट गरे। सो अवसरमा उनले मन्त्री ज्ञवालीलाई कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे।

त्यसक्रममा उनले भारतले ठूलो परिमाणमा कोभिड–१९ भ्याक्सिन उत्पादन गर्न लागेको जानकारी गराउँदै खोप पाउन नेपाललगायत निकटस्थ मित्रहरू भारतको प्राथमिकतामा पर्ने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया