नेपाल भित्रिने र बाहिरिने ४० प्रतिशतले बढे, सबै अन्तर्राष्ट्रिय उडान आज रातिदेखि बन्द

admin

काठमाडौं, २३ बैशाख : पछिल्लो तीन दिनमा हवाई मार्ग हुँदै नेपाल भित्रिने र बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले बिहीबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि नेपाल भित्रिने र बाहिरिने यात्रुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्रो देश उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुहरूको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाए पनि नेपालमा रहेका विदेशी दूतावासहरूले पनि नेपाल घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिडविरुद्धको खोप लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरूले पनि कम्तीमा १० दिन होटल क्वरेण्टीनमा बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरूले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरू आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताए ।

बिहीबार राति १२ बजेभन्दा अघि नै विदेशबाट प्रस्थान गरिसकेको र ट्रान्जिट भएर आउनुपर्ने विमानहरू शुक्रबार बिहानसम्म दुई वटासम्म आउने दिने गरी कुरा भएको उनले बताए । हवाई मार्गबाट बैशाख २२ गते मात्रै दुई हजार दुई सय ९० जना प्रस्थान भएका छन् भने तीन हजार आठ सय ८४ जना नेपाल भित्रिएका छन् ।

त्यसैगरी २१ गते एक हजार चार सय ४० जनाले नेपाल छोडेका छन् भने तीन हजार एक सय ८३ जना नेपाल आएका छन् । २० गते एक हजार दुई सय पाँच जना, १९ गते एक हजार तीन सय ६९ जना, १८ गते एक हजार ६ सय ९० जना र १७ गते दुई हजार पाँच सय नौ जना हवाई मार्ग हुँदै विदेश गएका छन् ।

अध्यागमनका अनुसार २० गते दुई हजार तीन सय २३ जना, १९ गते दुई हजार पाँच सय १० जना, १८ गते दुई हजार ३१ र १७ गते दुई हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुको चाप बढेपछि मंगलबार मात्रै एअर अरेबियाले तीन वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एअरलाइन्सले पनि उडान थप गरेका छन् ।

प्रतिक्रिया