नेपाल ५ वर्षपछि बंगलादेशसँग पराजित

admin

काठमाडौं, कात्तिक २८ : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २-० ले पराजित हुँदै बंगलादेशसँग ५ वर्षपछि हार बेहोर्न बाध्य भयो ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो ।

नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो । त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो ।

झन्डै ८ महिनापछि मैदान फर्केका खेलाडीमा फिटनेसको समस्या पनि देखिएको थियो । एक वर्षपछि राष्ट्रिय टोली खेलमा फर्कंदा नतिजा भने पराजय नै भोग्नुपर्यो । खेलमा नेपालका लागि विकास खवासले सुरुवाती रोजाइमा तथा एरिक विष्ट र दर्शन गुरुङले बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरे ।

खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए ।

नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै गह्रेलु टोलीलाई अग्रता दिलाए । बायाँ विन्ग्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भए ।

१४ औं मिनेटमा सुजलकै फ्रिकिकमा बंगलादेशी डिफेन्डरले हेडरमार्फत बल क्लियर गरे । १८ औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२१ औं मिनेटमा जीवनको क्रसमा किरण चेम्जोङको डाइभ सफल नहुँदा ब्याकपोस्टमा रहेका विकास खवासले गोलको अवसरलाई क्लियर गरेका थिए । २३ औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपू बर्मनको फ्री हेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर गर्नबाट चुक्यो ।

२५ औं मिनेटमा सुजलको पासमा रवि पासवानको प्रहार पोस्टभन्दा माथि गयो । लगत्तै नवयुगले गरेको फितलो प्रहारलाई डेब्यु गरिरहेका गोलरक्षक अनिसुर रहमानले बचाए । २७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दुरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।


सुरुवाती आधा घण्टामा बंगलादेशले एकपछि अर्को आक्रमण बुंदा नेपालले भने बल पोसेसन पनि आफ्नो पक्षमा राख्न संघर्ष गरेको थियो । ३१ औं मिनेटमा सादको क्रसमा जीवनको हाफ भली प्रहार पोस्टभन्दा माथिबाट गयो । ३९ औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल हुन नसक्दा फुस्केको बलमा अन्जनको प्रहार गोलरक्षकको हातमा पुग्यो ।

खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकल विष्ट मैदान प्रवेश गरे । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हाल्न छिरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल रहे ।

पहिलो हाफमा १-० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्कीलाई मैदान प्रवेश गराएको थियो । दोस्रो हाफको सुरुवातमा नेपालले बलमा पकड जमाउँदै आक्रमणको केहि प्रयास गरेपनि गोलरक्षकमाथि दबाब बनाउन भने असफल रहयो ।


५५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवानले नियन्त्रणमा लिएर गरेको डिफेन्डरलाई डीफ्लेक्ट हुँदै बाहिरियो । ७१ औं मिनेटमा भरत खवासको प्रयास पोस्टभन्दा माथि जाँदा खेलमा बंगलादेशको अग्रता कायम रहयो ।

७५ औं मिनेटमा बंगलादेशका बर्मनले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक किरणले विफल पारे । ७८ औं मिनेटमा विकास खवासको लामो थ्रोमा अनन्त तामाङको फ्लिक हेडर गोलरक्षक अनिसुर रहमानले मुस्किलले बचाए ।

८० औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । मिडफिल्डमा बल खोसेपछि काउन्टर अट्याकमा महबुबुर रहमानले विंगबाट बल अघि बढाउँदै वन भर्सेस वन अवस्थामा गोल गर्न सफल रहे । खेलको अन्त्यतिर नेपालले दबाब कायम गर्दै लगातार कर्नर प्राप्त गरेपनि गोलपोस्टतर्फ प्रहार गर्न भने सकेन । अनन्तले अन्तिम मिनेटमा गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।

मैत्रीपूर्ण सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेल मङ्सिर २ मा खेल्नेछ । सिरिजको उपाधि जित्न नेपालले कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ । बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया