नेमकिपाको महाधिवेशन शुरु

राष्ट्रिय समाचार समिति

भक्तपुर, ३ असोज: नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।


उहाँले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाउनुभयो । बेरोजगारीको समस्याका कारण विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ भन्दै उहाँले यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको चर्चा गर्नुभयो ।

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको भनाइ राख्नुभयो । बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो, “क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु ।” कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दूरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताउनुभयो ।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गुसाई, सिर्जना सायजु, पूर्वसांसद अनुराधा थापामगर विभिन्न भ्रातृ सङ्गठनका अध्यक्षहरुले देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपा सधैँ अगाडि उभिँदै आएको बताउनुभयो । यसअघि आजै भक्तपुरको च्याम्हसिंह, मध्यपुरथिमिको बोडे र काठमाडौँको कोटेश्वरबाट बाजागाजाका साथ शुरु भएको विशाल ¥याली सल्लाघारीमा उद्घाटन सत्रमा गएर समापन भएको थियो ।

आगामी ५ गतेसम्म सञ्चालन हुने नेमकिपाको साताँै महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । विधान संशोधनमार्फत हाल रहेको २५ सदस्यीय केन्द्रीय समितिलाई परिमार्जन गरी सङ्ख्या बढाउने र पार्टीमा महासचिवको व्यवस्था गर्नेबारे छलफल गरिने पार्टी स्रोतले जानकारी दिएको छ । यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँ खुला मञ्चमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो भने पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आउनुभएको छ ।

प्रतिक्रिया