पाँचथरको आरुबोटे हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सहयोगका लागि कोष खडा

शर्मिला गुरुङ

काठमाडौँ, १७ जेठ : दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ ।

पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताउनुभयो । यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्गदेम्बे संरक्षकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

उहाँका अनुसार अभियानका क्रममा हाल रु दुई लाख जुटिसकेको र १० लाख जम्मा गरिने छ । रु १० लाखको कोष निर्माण गरी त्यो कोषबाट बालिकाको शिक्षासहित पालनपोषणमा सहयोग पु¥याउने उहाँले वताउनुभयो ।

यसैबीच अभियानकी संयोजक रिजालसहितको टोलीले दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी बालिका खजुमको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।

गत जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या भएको थियो । उक्त घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । प्रहरीको निगरानीमा उपचार गराइरहेकी बालिकाको प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने बताइएको छ ।

यसैबीच दमकका सामाजिक व्यक्तित्व घनेन्द्रराज योङयाले बालिकाको पालनपोषण गर्न चाहेको बताउनुभएको छ । परिवारले दिए बालिकालाई छोरीका रुपमा आफूले जिम्मा लिन तयार रहेको योङयाले बताउनुभयो । रासस

प्रतिक्रिया