न्यूजील्यान्ड ज्वालामुखी विस्फोट : कैयौँ मानिस घाइते, केही ‘सम्पर्कविहीन’

मनिषा थापा

एजेन्सी : न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ ।न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् ।

स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्कविहीन भएको बताएका छन् । उद्धार गरिएकामध्ये अधिकांशको शरीर जलेको छ र कतिपयको अवस्था गम्भीर छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

न्यूजिल्याण्डको उत्तरतर्फ पर्ने ह्वाइट आइल्याण्ड ह्वाकारी भनेर पनि चिनिन्छ । यो देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी भएको क्षेत्र हो । सक्रिय ज्वालामुखी भए पनि यो पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ ।

यहाँ सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखी विष्फोट हुँदा सो क्षेत्रमा धेरै पर्यटकहरु थिए ।

प्रतिक्रिया