पचास देशमा फैलियो कोरोना भाइरस

admin

काठमाडौं, १६ फागुन : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

चीनमा ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै, ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेका बेला चीनबाहिर सङ्क्रमण बढ्नु चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ । इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइरस अझ खतरनाक भएको देखाएको उनले बताए ।

साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।

अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ ।

इटालीमा १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।

उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

 

प्रतिक्रिया