पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार

admin

काठमाडौं, ३० फागुन : सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो । छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको जनाउँदै आएका थिए ।

मन्त्री नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको बताएका छन् । ट्याक्सी व्यवसायीको चर्को विरोधपछि यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै टुटल र पठाओको नाम नै उल्लेख नगरी तिनीहरुले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको थियो । सूचना जारी भएलगत्तै त्यसको चौतर्फी विरोध भएको थियो ।

सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरित भएको जनाएको थियो ।

विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिएको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया