पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी

admin

काठमाडौं, २२ भदौ : पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेको अवस्थामा रोहित पौडेलले र सोमपाल कामीले ५२ रनको साझेदारी गरे । बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए ।

त्यस्तै दमेन राभु र चाद सोपरले दुई-दुई विकेट लिए । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई-दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।

प्रतिक्रिया