परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच आज भेटवार्ता

admin

काठमाडौं, २ माघ : भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार भेटवार्ता हुँदैछ ।​ उनीहरुबीच छलफलपछि हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ ।

सीमा विवादको विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन । बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणका क्रममा हिजो बिहान भारत गएका हुन् । बिहीबार पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए ।

औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गम्भीरताका आधारमा तहगतरूपमा व्यवस्थित गर्ने काम भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयमा रहेको भारत-नेपाल सम्बन्ध डेस्कका प्रमुख यज्ञबहादुर हमालसहित सरकारका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा छन् । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नेछन् । उनी शनिबार बेलुकी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया