पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते

राष्ट्रिय समाचार समिति

तनहुँ, २२ साउन: तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् । काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका सबै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी बाधमा नदीमा आज एक महिला मृतावस्थामा फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएअनुसार मृत्यु हुनेमा गोरखा पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छिन् ।

मङ्गलबार बिहान करीब ८ बजे घरबाट निस्केकी फूलमाया आज दिउँसो मस्र्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समया लगाएर शव बाहिर निकालेको थियो । शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया