पर्यटक भिसा वाहकले अगस्ट १ देखि साउदी प्रवेश गर्न पाउने

admin

काठमाडौं, १५ साउन : साउदीले आइतबारदेखि पर्यटक भिसा वाहकलाई प्रवेश गर्न दिने भएको छ । साउदीको पर्यटन मन्त्रालयले त्यहाँको सरकारले मान्यता दिएका कोरोना विरुद्धको खोप लगाएका पर्यटकहरुलाई अगस्ट १ देखि प्रवेशको लागि अनुमति दिएको हो ।

साउदी सरकारले फाइजर, अस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोनसनका खोपलाई मान्यता दिएको छ । यी खोप लगाएका पर्यटकले मात्र साउदी प्रवेश गर्न पाउने छन् । साथमा नेगेटिभ पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ । यति भएमा त्यहाँको संस्थागत क्वरेण्टीनमा बस्नु नपर्ने त्यहाँको मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

सार्वजनिक स्थानमा जाँदा खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने छ । साउदीले पछिल्लो समय एसियाका भारत, पाकिस्तान, अफगानिस्तान, इण्डोनेसिया, भियतनाम, यूएई लगायतका देश तथा युरोपका केही देशबाट सिधै तथा ती देशमा ट्रान्जिट भएर साउदी प्रवेशमा रोक लगाएको छ ।

मन्त्रालयको सूचनामा भने प्रतिबन्ध लगाएका देशका पर्यटकलाई पनि प्रवेश गर्न दिने नदिने भन्ने खुलाइएको छैन । योसँगै लामो समयदेखि बन्द रहेको साउदीको पर्यटन क्षेत्र पुनः सामान्य रुपमा सञ्चालनमा आउने जनाइएको छ ।

प्रतिक्रिया