पर्यटनमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

admin

काठमाडौं, २२ असार :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड-१९ ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गरिने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियालीलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया