पर्यटन संस्कृतिको विकास गरौँ : सञ्चारमन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटन प्रवद्र्धनसँगै पर्यटन संस्कृतिको विकास गर्न जरुरी भएको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २९आँै वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पर्यटन नेपाली संस्कृति र संस्कारसँग पनि जोडिएको विषय भएकाले नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटकलाई गर्ने व्यवहारलाई सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो, “पर्यटन पर्यटन मात्र हैन, यो सेवा र सत्कारको भाव पनि हो त्यसलाई झल्किने गरी सेवाको गुणस्तर, आतिथ्य संस्कारका साथ पर्यटक जहाजबाट ओर्लेदेखि बिदाइ हुने बेलासम्म प्रस्तुत गरिने व्यवहारले मात्रै देशको पर्यटनको सकारात्मक सन्देश प्रवाह हुन्छ ।” आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएकाले यसको प्रभावकारी प्रवद्र्धनमा एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाल भ्रमण वर्ष मनाइरहँदा अथाह सम्भावना भएका तर पनि ओझेलमा परेका पर्यटकीय ‘प्रडक्ट’ को ब्राण्डिङ गर्दै प्रभावकारी र व्यवस्थित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने अहिलेको उपयुक्त समयको भरपुर सदुपयोग गरी पक्ष र विपक्षमा आरोप प्रत्यारोप नगरी सकारात्मक सोच र निर्णयका आधारमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले औद्योगिक राष्ट्रले बढी कार्वन उत्सर्जन गरेका कारण नेपाल जलवायु परिवर्तनको जोखिममा परेको भन्दै हिमाल र प्रकृति संरक्षणको मुद्दालाई सरकारले अन्तर्राष्ट्रिय फोरमहरुमा दृढतापूर्वक उठाउँदै आएको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नेपाल राष्ट्रको विकास र समृद्धिका निम्ति हिजोका कमिकमजोरीहरुलाई बिर्सेर एकताबद्ध भएर लाग्नुपर्ने विचार राख्नुभयो । नेता भण्डारीले मुलुकको पर्वतारोहण क्षेत्रमा शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुको जीवनयापनको सुनिश्चितताका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पदयात्री र पर्वतारोही व्यवसायीले उद्धार कार्यविधि कार्यान्वयनमा अटेर गरिरहेको भन्दै यस कार्यमा सहयोग पु¥याउन सरोकारवालालाई आग्रह गर्नुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा र पर्वतारोहण एकअर्काका सारथी भएकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाएर लैजाने बताउनुभयो ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले नेपाल भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रका संस्थाहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गत आर्थिक वर्षमा सङ्घअन्तर्गतका चुलीहरुको सर्वाधिक आरोहण अनुमति जारी गर्ने १० उत्कृष्ट स्रोत सदस्यलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।त्यस्तै सङ्घको डा हर्क गुरुङ पर्वतीय पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी स्व आङ्छिरिङ शेर्पा र कुमार खड्ग विक्रम साहसिक पुरस्कार अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुम शेर्पालाई प्रदान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय भरतबन्दु थापा र जुली गुरुङ पुरस्कृत हुनुभयो । ती सबै पुरस्कार मन्त्री बाँस्कोटाले प्रदान गर्नुभयो ।

प्रतिक्रिया