पशुपतिनाथ मन्दिर आज दिनभर बन्द

admin

काठमाडौं, पुस २६ : पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताउनुभयो । काेराेना महामारीका कारण झण्डै ९ महिना बन्द भएकाे मन्दिर गएकाे पुष १ गतेदेखि खुलेकाे थियाे ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । पुस १५ देखि आउँदो माघ २९ सम्म सौर र चन्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

यसैबीच हिजो एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । सामान्य दिनमा २० देखि ३० हजारको संख्यामा दर्शनार्थी पुग्ने गरेकोमा हिजो ५० हजारभन्दा बढीले दर्शन गरेका कोषका कार्यकारी निर्देशक खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया