पशुपतिमा दुई विद्युतीय टेम्पो थप

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ मङ्सिर : पशुपति क्षेत्रको सवारी निषेधित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, अशक्त एवं थकित भक्तजनका लागि दुईवटा विद्युतीय परिवहन थप गरिएको छ । भारतीय राजदूतावासको पहलमा भारतीय महिला सङ्घले दुई विद्युतीय टेम्पो पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

भारतका राजदूत मञ्जीवसिंह पुरीको उपस्थितिमा कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई सङ्घकी अध्यक्ष नम्रता पुरीले आज टेम्पो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सदस्यसचिव ढकालले मैत्रीपूर्ण सहयोगले मन्दिर दर्शनमा आउने अशक्त दर्शनार्थीलाई सहयोग पुग्ने बताउनुभयो । सो परिवहन वनकालीबाट जुत्ता चप्पल कक्षसम्म सञ्चालन हुनेछ । कोषमा यसअघि पनि दुई विद्युतीय टेम्पो सञ्चालनमा थिए । लक्ष्मी बैंकले यसअघिका दुई टेम्पो कोषलाई सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कम्तीमा पाँचवटा विद्युतीय परिवहन सवारी निषेधित क्षेत्रमा सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिएको थियो । दुई परिवहन कोष आफैँले थप्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । परिवहनमा निःशुल्क यात्रा गराइने कोषले जनाएको छ ।

एउटा विद्युतीय परिवहन पशुपतिको भ्रमणमा आएका आन्तरिक एवं बाह्य पर्यटकलाई गुह्येश्वरी लैजान उपयोग गरिने छ । पशुपति आएका पर्यटकलाई गुह्येश्वरी लैजान कोषले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया