पशुपतिमा सिन्दूर जात्राको तयारी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ चैत : पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको जात्राअन्तर्गत सिन्दूर जात्राको तयारी शुरु भएको छ । चैत्र कृष्णदशमीका दिन पशुपति क्षेत्रमा जात्राका पालो भएका गुठियारसहित गुठियारलाई मूल भट्टले सिन्दूर लगाइदिने परम्परा छ । त्यसका लागि आज तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताउनुभयो ।

बिहीबार बेलुकी मूल भट्ट गणेश भट्टले सिन्दुर लगाइदिनुहुने कार्यक्रम छ । त्यसपछि जात्रा शहरको विभिन्न भागमा घुम्ने गर्छ । जात्राको पहिलो दिन मङ्गलबार पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमलयात्रा गरी यस क्षेत्रका देवी–देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दूध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने भएकाले दुदु च्याँच्याँ नामकरण गरिएको भनाइ छ ।

देशोद्वार पूजा भनेर समेत चिनिने जात्राको निम्ता गर्न पशुपतिका भट्टकै नेतृत्वमा पैदलयात्रा गर्नुपर्ने नियम छ । यसवर्ष रामकारान्त भट्टको नेतृत्वमा निमन्त्रणा यात्रा गरिएको थियो । मङ्गलबारदेखि १२ दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, पिङ्गलामाई, गुह्येश्वरीलगायत देवी देवताको रथ निकालिन्छ ।

देशोद्वार पूजा गरी चैत्र कृष्ण पक्षमा जात्रा चलाउन करिब २०० वर्ष अघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारी तिलगङ्गाको १३ रोपनी जग्गा राखिदिनुभएको थियो । यही जग्गाको आयस्ताले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको वृहत्तर विकासका लागि विसं २०७२ यो ठाउँ अधिग्रहण गरिएको हो । जग्गा अधिग्रहण गरी मोहीलाई मुआब्जा दिएपनि निजी गुठीलाई नदिएको काठमाडौँ महानगरपालिका–८ का पूर्व वडाध्यक्षसमेत रहनुभएका गुठियार सुवर्ण वैद्यले बताउनुभयो ।

प्रतिक्रिया