पशुपति मन्दिर परिसरमा सरसफाइका लागि भारतको सहयोग

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १ असार:पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि नेपालस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारतमैत्री ः विकास साझेदारीअन्तर्गत अनुदान दिइनेछ । यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

पशुपतिनाथ मन्दिरमा पाल्नुहुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले रु तीन करोड ७२ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।

यो परियोजनाको कार्यान्वयन काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ । सहमतिअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नका लागि महानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

काठमाडौँमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र वाग्मती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौँको सङ्ख्यामा भक्तजनहरु आउँछन् । सन् २०१४ अगस्ट महिनामा दुवै देशका सरकारले सहमति गरेको सरसफाइ परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने छ ।

प्रतिक्रिया