पश्चिमोदय सहकारीको नवौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

मनिषा थापा

काठमाडौँ : पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको नवौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीको प्रमुख आतिथ्यमा शनिबार डिभाइन बैङ्क्वेट कालिमाटीमा भएको साधारण सभामा झण्डै दुई सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

विशेष अतिथिका रुपमा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला सहकारी संघ लि। काठामाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, राष्ट्रिय सहकारी हकहित समाजका उपाध्यक्ष गोविन्द गिरी, काठमाडौं बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगर, काठमाडौं महानगरपालिका सहकारी विभागका अधिकृत शिवजी भट्टराईलगायतलाई आमन्त्रण गरिएको थियोे । त्यस्तै अन्य अतिथिहरुमा प्रिमिएर साकोसका सञ्चालक घनश्याम रौनियार, सिद्धेश्वर महिला साकोसका कोषध्यक्ष वृन्दा न्यौपाने, राष्ट्रिय सहकारी बैंक न्युरोड शाखाका प्रमुख केदारनाथ उप्रेती, कीर्ती साकोसका प्रबन्धक अनन्त दाहाललगायत उपस्थित भएका थिए । संस्थाका सञ्चालक चन्द्र बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने स्वागत गीत गाएर उपस्थितहरुलाई स्वागत गरिएको थियो ।

संस्थाका सचिव सुष्मा सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । पश्चिमोदयमा अहिले ११ सयभन्दा बढी सेयर सदस्यहरु आवद्ध रहेका छन् भने संस्थाको पुँजी झण्डै २ करोड पुगेको छ । सभापतीको मन्तव्य राख्दै संस्थाका अध्यक्ष देवराज न्यौपानेले संस्थाको कारोबारलाई मध्यनजर गरी एस् एम् एस् प्रणाली सञ्चालन गरिसकेको र आगामी दिनमा एटीएम सेवा सुचारु गर्ने, आफ्नै भवन खरिद गर्ने तथा नयाँ शाखाहरु विस्तार गर्ने योजनाहरु रहेको बताए ।

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पश्चिमोदयलाई शुभकामना दिँदै सहकारी भित्रका चुनौतीहरु र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बताए । त्यसैगरी काठमाडौं महानगरपालिका सहकारी विभागका अधिकृत शिवजी भट्टराईले केही सहकारीको नराम्रो कामले गर्दा राम्रा सहकारीलाई पनि असर पर्ने गरेको बताए । उनले भने “काठमाडौंमा धेरै सहकारी भएका कारण पनि सहकारीबिच नै प्रतिस्पर्धा चलिरहेको छ ।” उनले पश्चिमोदयमा ढुक्क भएर बचत गर्न आग्रह समेत गरे ।

राष्ट्रिय सहकारी हकहित समाजका उपाध्यक्ष गोविन्द गिरीले सहकार्य शब्द सहकारीबाट आएर राजनितीसम्म पुगेको र यो वित्तीय सहकार्य भएको बताए । उनले भने “ठुलो आर्थिक कारोबार गर्दैमा सहकारी राम्रो भन्ने हुँदैन, बचतकर्ताको पुँजी सुरक्षित हुनुपर्छ ।” विभागको तथ्यांकअनुसार वित्तिय अनुशासन पालना गर्ने राम्रो संस्थामा पश्चिमोदय परेको उनले बताए ।

प्रमुख अतिथिका रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले बचतकर्ताले बचत गरेको पैसा सहकारीले उचित ढंगले व्यवस्थापन गरेमा मात्र संस्था सुचारु ढंगले अगाडि बढ्ने बताए । संस्थाका सदस्य, कर्मचारी तथा सञ्चालक सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरेमा जति रकम आवश्यक परे पनि राष्ट्रिय सहकारी बैंकले सहयोग गर्ने बताए ।

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो दिनुका साथै असल बचतकर्ताका रुपमा विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा साधना कला केन्द्रका कलाकारहरुले विभिन्न रोचक नृत्यहरु प्रस्तुत गरेर थप माहोल तातिएको थियो ।

एकका लागि सबै र सबैका लागि एक भन्ने नारा रहेको पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि को मुख्य कार्यालय न्युरोड धर्मपथमा रहेको महाबौद्धमा शाखा कार्यालयसमेत रहेको छ । पछिल्लो समयमा शाखा विस्तारको क्रममा नयाँ बजारमासमेत सहकारीको नयाँ शाखा स्थापना भईसकेको छ ।

प्रतिक्रिया