पश्चिम तराईमा घाम देख्नै मुश्किल, काठमाडौंको तापक्रम २‍.८ डिग्री सेल्सियस

admin

काठमाडौं, १३ माघ : काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । (हिजो) सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो । काठमाडौंको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।

यसअघि गएको पुस १६ गते काठमाडौंको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको मौसमविद् नगरकोटीले बताइन् । पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन । तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद् नगरकोटीले बताइन् । पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उनले जानकारी दिइन् । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया