पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

admin

बैतडी, २१ असार : वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पुर्चौंडी नगरपालिका-७ ऐरीगाउँमा पहिरोले स्थानीय मंगल ऐरको घरमा क्षति पुर्‍याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए ।

गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् ।” पहिरोले घरमा क्षति पुर्‍याएपछि मंगल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ ।

यस्तै पुर्चौंडी-३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पुर्‍याएको छ । नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ ।

दार्चुलामा पनि क्षति
दार्चुलाको नौगाड गाउँपालिका-४ कपडेमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिए ।

यस्तै पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन् । यसका साथै नौगाड-४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिए ।

साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ । यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन । सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए ।

खोलाले बगाउँदा एक महिलाको मृत्यु
खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको श’व फेला परेको हो ।

उनले भने, “मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ ।”  शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया