पहिरो पीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ

admin

जाजरकोट : ‘दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतविच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजारा चलाइरहेका छौँ’, जाजरकोट​ बारेकोट गाउँपालिका ४ काे गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाउनुभयो ।

गएकाे असार २५ गते मध्यरातमा आएको पहिराेले घर बगाएपछि उहाँको छ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ । गाउँपालिका र अन्य सङ्घ संस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो ।

भएको पाखोबारी सबै पहिराले लग्यो । ‘घरमा कमाइ गर्ने कोही छैन, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौँ, हामी त साह्रै समस्यामा पर्‍याैँ हजुर’, गोरीले भन्नुभयो, ‘पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।’

उहाँजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिराेले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको सहारा लिएर बसिरहेका छन् । केही समय विद्यालयमा बसेका उहाँहरु अहिले जङ्गलमा बसेका छन् । विद्यालयमा पढाइ सुरु हुन थालेपछि जङ्गलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

‘त्यही त्रिपालमै जमारा राखेका छाैँ’, विस्थापित नैनबहादुर नेपालीले भन्नुभयो, ‘मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशैँ मनाउने त सपना भइसक्यो, त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दशैँ हुने थियो ।’

बारेकोटमा गएको पहिराेमा परि १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षा रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।

‘हाम्रो बस्ने ठाउँ पहिराेले सबै बगाएर लग्यो, हामीलाई पुनर्वासको व्यवस्था गरिदिनुपर्‍याे’, विस्थापित गोपाल कामीले भन्नुभयो, ‘हाम्रो समस्या भनेकै गाँस र बासको हो ।’ चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ ।

विस्थापित परिवारलाई पुनर्स्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।

प्रतिक्रिया