पहिलो पटक किम जोङद्वारा अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी

admin

एजेन्सी, ४ असार : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताएका छन् । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिएका छन् । किम जोङले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो ।

बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताएका हुन् । सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठक यही हप्ता राजधानी प्योंगयांगमा सुरु भएको थियो ।

उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार किम जोङले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकाको सामना गर्नका लागि विशेष रुपमा तयार रहनुपर्ने आवश्यकता भएको बताएका छन् । कोरियाली प्रायद्वीपमा कुनै किसिमको नियन्त्रण गर्ने कोसिस गरिए उत्तर कोरियाली कडा जवाफ दिने पनि किम जोङले बताए ।

केही दिन अघिमात्रै किम जोङले देश खाद्यान्न सङ्कटको सामना गरिरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन । अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाई ‘थग’ (बदमास) भनेर सम्बोधन गरेका थिए ।

बाइडेनको शपथ ग्रहण समारोहको एक दिनअघि उत्तर कोरियाले शक्ति प्रदर्शनका लागि नयाँ मिसाइलसँगै सैन्य परेड निकालेको थियो । अप्रिल महिनामा बाइडेनले उत्तर कोरियालाई विश्वको सुरक्षाका लागि गम्भीर खतरा भएको संज्ञा दिएका थिए । उत्तर कोरियाले यस विषयमा कडा आपत्ति जनाएको थियो र बाइडेन आफूप्रति शत्रुताको नीति अपनाइ राख्न चाहन्छन् भनेको थियो ।

प्रतिक्रिया