पहिलो पटक जीपी कोइराला अस्पताल तनहुँमा हर्नियाको शल्यक्रिया सफल

राष्ट्रिय समाचार समिति

तनहुँ, १५ असोज : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा. परिवर्तन बरालले जानकारी दिए ।

डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गरेका हुन् । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ । दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरामा रहेको गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उनले जीपीमा नै शल्यक्रिया गर्राएका हुन् ।

‘हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो, अब सर्वसाधारणलाई सहज हुन्छु, डा. बरालले भने । यस अस्पतालले यसअघि भदौ पहिलो हप्ता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिए ।

उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ । अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ ।

त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।

प्रतिक्रिया