पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त

admin

चितवन, १८ जेठ : भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका १ निवासी पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त भएकी छिन् ।

शुक्रबार र शनिबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उक्त गर्भवती महिलालाइ आइतबार बिहान श्रीमानको जिम्मा लगाएर हेटौडा पठाईएको छ । हेटौंडा उपमहानगरपालिका १ कि ती २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ १४ गते बुधवार भरतपुर अस्पताल ल्याईएको थियो ।

गत मंगलबार हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । उनी र श्रीमान भरतपुर- १२, हुलाक चोकमा डेरा गरी बस्दै आएका थिए ।

अहिले भरतपुर अस्पतालमा पूर्वी नवलपरासी (नवलपुर) का तीनजना पुरूष र भरतपुर महानगरपालिका वडा नं. ६ का एकै परिवारका ३ जना सदस्यसहित ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका-८, निवासी कोरोना भाइरस (कोभिड-१९) संक्रमित २७ वर्षीय पुरूष बैशाख १३ गते र ६३ वर्षीया महिला बैशाख ३१ गते निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया