पाँच वर्षपछि तीन करोड लिटर पानी हालेर पुनः भरिभराउ रानीपोखरी

admin

काठमाडौं, ३ असोज : काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । विसं २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ ।

यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए ।

थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए ।

पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो । मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए ।

थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए । ‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया