पार्टीको घोषणापत्रअनुसार काम गर्नुहोस : मुख्यमन्त्री गुरुङ

रिता घिसिंग

कास्की, २२ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन कमिटी गण्डकीले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय स्थानीय सरकारका प्रमुख उपप्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टीको घोषणापत्रअनुसार जनतासँग मत मागेर विजयी भएका जनप्रतिनिधिले घोषणापत्रको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

जनप्रतिनिधिलाई व्यक्तिगतभन्दा पनि संस्थागत निर्णय गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले व्यक्तिगत निर्णयले अराजकता सिर्जना गर्ने तथा बजेट निर्माण र खर्च गर्दा भद्रगोलको अवस्था देखिएकाले यसले समग्र पार्टीलाई बदनाम गर्ने भएकाले सचेत रहन आग्रह गर्नुुभयो ।

गुरुङले भन्नुभयो, “कोही व्यक्तिको निर्णयले समग्र पार्टीलाई असर गर्ने काम गर्नुहुँदैन । खर्च गर्दा पनि नियमसङ्गत र पारदर्शीरुपमा गर्नोस् । जसबाट अर्को चुनावमा जनप्रतिनिधि बेरुजु र भ्रष्टाचारमा नपरेको गर्वका साथ जनतामा जान सकियोस् ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आवश्यक कानून र कर्मचारी अभावलगायतका कारणबाट यसबीचमा सोचेअनुसार काम गर्न नसकिएको भनाइ राख्नुभयो । नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डेले विगतमा पार्टी र जनप्रतिनिधिको समन्वय नभएकोमा अब प्रदेश कमिटी गठनपछि सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जनप्रतिनिधिले वस्तुगत स्थिति हेरेर योजना बनाउन आग्रह गर्नुभयो ।
–रासस

प्रतिक्रिया